Monday 1 July 2019

मेरा बा र जेष्ठ १५



आज जेष्ठ १५ गते
मेरो, अह!   हाम्रो, अह ! खैर नेपाल सरकरले
मेरो चाइनिज मोबाइलमा एउटा सन्देश पठाएको छ
गणतन्त्र दिवशको उपलक्ष्यमा शुभकामना भन्दै
यहि सन्देशले याद दिलाएको बुबाको अनुहार
५६७८ पटक पृथ्वीले सुर्यको वरिपरि घुम्दा समेत
आशाको किरण कहिल्यै झुल्केन हाम्रो झुपडिमा
केवल झुल्के त सम्झनाका कुइनेटाहरु झुल्के
इन्क्लाब जिन्दावाद सरकार मुर्दावाद
इन्क्लाब जिन्दावाद भन्दै बुबाले लगाएको नाराको प्रतिध्वनी गुन्जिए





अझै याद छ त्यो दिन
पसिना पसिना भइ आमाले घुमाउदै गरेको चर्खा अनि बुबाले तिखार्दै गरेका भगवानको मुर्ति, हसिया र कोदालोहरु
पुलिसको बुटको चपेटामा परेको बुबाको छाती
अनि सुक्क सुक्क गर्दै आइरहेको आमाको आवाज
अनि टिलपिल गर्दै रसाइरहेका दिदीका आँखा
अनि माओवादीको सुराकी भन्दै श्री ५ को  सरकारले
बुबाको शरिरमा लगाइदिएका अन्यायका निला निला डामहरु
यी सबै सबैले बाध्य बनाएथ्यो मेरा 'बा'लाइ
पनि कमरेड सगरमाथा सङै
कमरेड ज्वाला सङै
कमरेड प्राप्ती सङै
इन्क्लाब जिन्दावाद
सरकार मुर्दावाद भन्दै न्यायको खोजीमा हिड्न
कमरेड रक्तिमले बाहिर हुत्याइदिएको थियो कुलदेवताको नाममा आमाले भित्र लुकाएर राखेको भगवान नामको त्यो ढुङ्गा
अनि कमरेड क्रान्तिले भत्काइदिएको घरछेउको आमा र दिदी नछुने हुदा बस्ने छाउपडी गोठ
कमरेड बिस्फोटले कब्जा गरेको साहुको जग्गा र अकुत सम्पती
कमरेड नास्तिकले भत्काइदिएको थियो गाउमा लागेको जातियताको पर्खाल
राखेर सबैलाइ सङै खुवाएको थियो भोज क्रान्तिको नाममा
त्यति खेरै त हो मेरा बाले पनि मनमा आशा बोकि काधमा बन्दुक बोकेको
इन्क्लाब जिन्दावाद
सरकार मुर्दावाद भन्दै नारा लगाएको


देखेर 'बा'का झोलामा अटेसमटेस राता कपडाहरु
अनि हसिया र हतौडा अन्कित झण्डाहरु
सुम्सुप्याएर थरी थरिका बमका डल्लाहरु
सहयोद्दाका रगतले लत्पतिएका कपडाहरु
परिवर्तन लेखिएका ठुला ठुला पोस्टरहरु
यति देखेपछी
जिन्दावाद र मुर्दावादको अर्थ थाहा नभए पनि
बेला बेला हातमा रातो कपडा बाधी म पनि भन्ने गर्थे
झण्डा समाति इन्क्लाब जिन्दावाद
सरकार मुर्दावाद भन्ने गर्थे !


आज जेष्ठ १५ गते सरकरले मलाइ सम्झेको दिन
मेरा बालाइ सम्झाइदिएको दिन
म घरी घरी सम्झिरह्र्छु ती
रगत उमाल्नेगरी बोलिएका चर्का भाषणहरु
मनको ढुकढुकी बढाउनेगरी गाइएका रक्तिमका गितहरु
आज ती गित गाउनेहरु कता छन
ती चर्का भाषण गर्नेहरु कता छ्न
कतै मेरा बा जस्तै ती पनि हराएका त छैनन
आज ठिक ५६७८ दिन भैसक्यो मेरा 'बा'को  मारिएको मिथ्या हल्ला फैलिएको
म पनि २२ बर्ष भैसके
मैले कसलाइ र सोधिन मेरा 'बा' कहाँ छ्न
मलाइ नागरिकता बनाउन मेरा 'बा' नै चाहिन्छ मलाइ पासपोर्ट बनाउन 'बा' नै चाहिन्छ भन्दै
सरकारले मलाइ खोज्न पठाएको छ मेरा 'बा'लाइ
तर ठेगाना दिदैनन कसैले
कमरेड ज्वाला, नास्तिक, बिरोध, क्रान्ति, सगरमाथा
अह कसैले दिदैन जवाफ मेरो प्रश्नको
मेरा 'बा' कहाँ छन 
फाइभ स्टार भट्टी भित्र माओवाद, मार्क्सवाद, लेनिनवाद, समाजवाद, साम्यवाद, जबजको सिद्धान्त पिउदै
इस्तिहार लेखेर सरकारले पढाएको छ
जनयुद्धका वीर सहिदहरु अमर रहुन भन्दै
बोलाएको छ आमालाई रु ५ लाखको
घाउ निको गर्ने मलम र दोसल्ला लिन
के छोप्न सक्ला कि नाइ दोसल्लाले हाम्रो फाटेको मन
शान्ती मिल्ला कि नाइ हराएका मेरा 'बा'लाई
टुडिखेलमा १ मिनेट मौन धारण गरेर परिवर्तनको नाममा
सरकारले दिएको ५ लाखले म अरब भासिए भने !
शान्ती मिल्ला कि नाइ ?



No comments:

Post a Comment