Friday 17 April 2020

भावनामा नबग्ने प्रधानमन्त्रीको अठोट



शान्त बस न ए मुर्खहरू हो 
म जनताहरूको निम्ति दिनरात खटेको छु
आफू आधी निको हुँदा पनि देशलाई निको बनाउन 
२० घण्टा काम गरिरहेको छु 
विद्यालयहरू बन्द गराएको छु 
अस्पतालका ढोका आधी मात्र खोल्न भनेकै छु 
गाडीहरू ठप्प पार्ने आदेश दिएकै छु 
यो कोरोना मुक्त नेपाल घोषणाका निम्ति म तल्लिन्न छु दिनरात 
किन सम्झाउँछौ मलाई महाकालीको पानीको बेगलाई जितेर आउने नयाँ भीमदत्तहरूका कथा 
जो भावनामा बग्दैछ्न् अझै पनि
आफ्नो देशमा पाइला टेक्न, 
एक मुस्कान राष्ट्रियता मुस्कुराउन
दुई थोपा पीडा आँखाबाट चुहाउन 
आफ्नो आँगनमा कोरोना भन्दा पहिले आफूले पाइला टेक्न खोज्नेहरूका कथा 
मैले त भावनामा नबग्ने अठोट लिएको छु ।


किन हल्ला गर्छौ ए डाक्टरहरू
के पुगेन तिमीहरूलाई फेरि 
औषधि किन्न मान्छे खटाएकै छु 
किन सम्झाउँछौ मलाई
बार बार 'ओम्नि' र 'यति' का कुरा 
'बिष्णु' र 'बालुवाटार' का कुरा 
आफ्नो तलब नलिने घोषणा गरेर तिमीहरूलाई भत्ता दिन प्रयास गर्दैछु 
किन देखाउँछौ डाक्टरहरूको पिठ्युँमा लठ्ठीका नीलडाम सहितका तस्बिर 
प्रहरी खटाएको छु देशमा 
सेना खटाएको छु औषधिका निम्ति 
किन सम्झाउँछौ अलपत्र परेका डायलाइसिस गर्ने बिरामीका कथा, 
अलपत्र सुत्केरीका पीडा 
किन सुनाउँछौ मलाई बाजुरामा एम्बुलेन्स नपाई मान्छे मरेका कुरा 
मान्छे भन्दा ठूलो देश हैन र ?
म नयाँ युगको सुरुवात गर्न तल्लिन छु 
त्यसैले मैले भावनामा नबग्ने अठोट लिएको छु ।


नरेन्द्र मोदिजी सँग संवाद गरेकै छु
उहाँको अवस्थाको बारेमा बुझेकै छु 
हाम्रा नागरिकहरूलाई कृपा गर्न अनुनय बिनय गरेकै छु 
अझै पनि दार्चुला पारी पट्टिबाट कसले ल्याउँदै छ यी बिभत्स तस्बिरहरू 
किन एकोहोरो म तिरै हेरिरहेका छन् एकटक उनीहरू
किन बोल्दैछ्न् उनीहरू मेरो मौनतामा 
किन पठाउँछन् सन्देशहरू सरकारका नाममा 
नसम्झाऊ मलाई 
मैले त भावनामा नबग्ने अठोट लिएको छु ।


सबै स्थानीय मुख्यमन्त्री सँग छलफल गरेकै छु 
सबैको बजेट बिनियोजन गरेकै छु 
अब केही समय हो धैर्य गर्न सक्दैनौ जनताहरू? 
कति वर्षसम्म जहाँनिया राणा शासन सह्यौ
कति वर्ष राजतन्त्र सह्यौ
कति वर्ष युद्ध काटमार सह्यौ 
अलिकति धैर्य बाँकी छ भने गर न 
ए मूर्ख जनताहरू हो 
किन सुनाउँछौ हिँड्दै सोलुखुम्बुबाट धनगढी आएकाहरूको कथा 
श्रीमती बालबच्चाका रथ बनेका साहसी श्रीमानका कथा 
किन यस्तो बेला सम्झाउँछाै रेल र पानीजहाजका कुरा 
म नयाँ युगको सुरुवातको इतिहास लेख्दै छु
किनकि भावनामा नबग्ने अठोट लिएको छु ।

१ महिना लकडाउनमा किन यस्तो सास्ती
१४ वर्ष जेल बसेको अनुभव छ म सँग पनि
बुझ्न सक्छु म तिम्रा पीडाहरू
अनुभूत गर्न सक्छु म तिम्रा बिलापहरू
किन सुनाउँछौ काठमाडौँमा बिचल्ली परेका मेरा मतदाताका कथा 
म एकछिन् 'यति' र 'ओम्नि' सँग छलफलमा छु 
व्यक्तिगत स्वतन्त्रता कि जीवन भनेर ? 
यसको निष्कर्ष सँगै चाँडै आउनेछु म 
अहिले नयाँ युगको सुरुवातको तयारीमा छु
किनकि भावनामा नबग्ने अठोट लिएको छु ।

एकछिन शान्त बस न ए 
बुद्धका सन्तानहरू हो 
राहत वितरणको अझै तयारी गर्दैछु 
राहतको चामलमा किरा कसरी परेछ्न्
माइक्रोस्कोप लाएर अनुसन्धान गर्न भनेकै छु 
दोषी छ भने कारवाही गर्ने भनेकै छु 
कोरोना भन्दा कठिन भ्रष्टाचारको बिराम 
लगभग ठीक बनाइसकेको छु 
अब भोकले कोही मर्दैन 
रोग आउन नदिन सीमानामा खटाएको छु सेनाहरू
हाम्रो वीरताको इतिहास नियाल्न बन्दै गरेको 
भिउटावर माथिबाट हेर्दा कतै देखिँदैन अहिले समस्या सबैजना सन्तुष्ट छ्न् सरकारसँग
म नयाँ युगको इतिहास लेख्दै छु 
किनकि भावनामा नबग्ने अठोट लिएको छु ।

No comments:

Post a Comment