Friday, 9 February 2018

प्रेम पत्र



प्रिय  ............

सम्बोधन कुन शब्दले गर्ने पहिल्याउनै सकिन किनकी तिमीले आफ्नो अस्तित्व नै त्यसैगरी स्थापित गरेकी छौ मेरो मनमा, न म तिमीलाइ क्षितिज पारिको वा अरु कुनै रैती मान्न सक्छु, न त आफैले सोचेर, सपना बुनेरै तिमीलाइ आफ्नै मान्छे घोषणा गर्न सक्छु ।यो अन्योललाइ एकछिन यतै विश्राम दिदै..... जब तिमी सङका यादहरुको खुत्रुके म फुटाउन थाल्छु । तिम्रो त्यो सदाबहारको हसिलो मुहार, अनि नम्र एवम शिष्ट मिठासपुर्ण बोली, तिम्रो त्यो होचो कद, तर अग्लो अभिमान, तिम्रो तेजिला नयनको तलपट्टीपरेका Dark circle, अनि त्यही Dark circle छोप्ने चस्मा, थेप्छे नाक, सबैले तिमीलाइ तिमी जस्तै बनाएको छ र त तिम्रै खोजीमा म पनि हराएको छु ।


\अनि पो देखिन्छन तिम्रो निम्ति साचेका कयौ यादहरु अनि कयौं सपना र कल्पनामा गुज्रिएका अनगिन्ती रातहरु तर त्यही रातको अध्यारोमा पनि चन्द्रमाको उज्यालो झै चम्किदै आएका तिम्रा ........waved you  र Hello लेखिएका message हरु । साच्चिकै मलाइ उर्जा प्रदान गरे तिम्रा यी अग्रसरताले ।  तिम्रा wave र Hello को आदत परेको मेरो मनले कति रात त केवल तिम्रा message को पर्खाइमा कुर्नु पर्यो त्यो मलाइ कहि पनि याद छैन, किनकी पर्खाइ त बिस्तारै आफैले पठाउन थालेको हेल्लो बाट पाएको छुटकारामा रमाउन थालीसकेको थियो । यहि स्वतन्त्रता भित्र फक्रीएको स्वच्छन्दतामै त मेरो प्रेमले मौलाउने मौका पायो ।

प्रिय .....तिमी जीवनको यस्तो मोडमा आएर म सङ जानी नजानी ठोक्कीन पुग्यौ नि मेरो मनमा भुइचालो नै गयो । कहिले काहीँ सान्त्वना स्वरुप आउने तिम्रा message का राहतका प्याकेजहरुले नै मलाइ सम्बन्ध कल्पनामै भए पनि अघि बढाउने उर्जा भने दिइरहयो ।

तिमीलाइ भेटेपछी मलाइ लाग्यो साच्चिकै यो सन्योग पनि अच्चम्मको हुदो रहेछ । संयोगले नै पढ्दै तिमी छुटै बाटो हुँदै त, म छुटै बाटो हुँदै आखिर संयोगले भेटाइ छाड्यो हामीलाइ । भेटाउनु भाग्यको कर्म थियो, तिमीलाइ मन पराउनु मेरो मनको कर्म थियो, हावाको अर्थ चल्नुमै अनि पानीको अर्थ बग्नुमै भए जसरी मेरो अर्थ पनि म तिमीमै समर्पित हुनुमा देख्न थालीसकेको छु । त्यसैले तिमीलाइ भेटेपछी मलाइ लाग्यो केही मान्छे जीवनमा यसरी भेटिन्छन्, भाग्यमा विश्वास नगरी मन मान्दै मान्दैन ! जसरी भाग्यले मलाइ पनि तिमी सङै भेटाइदियो  ढिलै भए पनि ।

संसारमा केही कुरा पूर्ण छैन । म पनि आफैमा पनि पूर्ण छैन , तिमीलाइ मैले गरेको यो एकतर्फी प्रेम पनि पुर्ण छैन र यो लेख्दै गरेको प्रेमपत्र पनि पूर्ण छैन। पूर्ण नहुनु मै त यी कुराको सुन्दरता छ । जसरी केही अधुरोपनाले नै पूरा हुने बाटो देखाउँछ । हो म त्यही अधुरोपनामा तिम्रो साथको तृप्तीको खोजीमा छु। म यही पर्खाइमा छु यो अधुरोपनामा तिम्रो अधुरोपन मिलाउने । तिमीसँग नजिक हुनु, अनि टाढा हुनु, कहिल्यै बाटोमा,  Library का कुर्सीहरुमा, पार्टीमा हल र डान्सिन फ्लोरहरुमा सँगै हुनु, LT जाँदै गर्दा बाटोमा, होस्टेल फर्किदै गर्दा बाटोमा , कहिलेकाही भिडमा पनि म बिल्कुल एक्लै हुनु, अनि कहिले एक्लै हुदाहुदै पनि भीडमा हुनु, भएर पनि नभएजस्तो लाग्नु, नभएर पनि तिमी आफ्नै भएजस्तो बिश्वास जाग्नु - यी सबै सबैमा म तिमीले गर्ने अदभूत प्रेम भेट्टाउछु , तिम्रा नियमित बेवास्ताहरुमा, तिमीले गर्ने ख्यालठट्टा र जिस्किने बालापनहरुमा, राती अबेर सम्म च्याट गर्दा तिमीले बुनेका हरेक बहानाहरुमा मैले आफैलाइ भ्रममा राखेर पनि प्रेमको तृप्ती लिने गरेको छु ।

कसरी पोखु तिमीलाइ ?
मेरा मनमा लुकेका कुरा छ्न
जति टाढा हुन खोज्छु
उति माया बढ्दै जान्छ झन ।
खै त तिमीले बुझेको ? मेरो मुटु किन चोरेको ?

हो मलाइ पनि सोध्न मन छ तर तिमी प्रत्येक पटक मौन बसीदिन्छौ र पो अन्योलमा छु, अझै तिम्रो मौनता नै स्विकारोक्तिको प्रतिबिम्ब हो वा बेवास्ताको नक्कली घोम्टो मात्र म अन्योलमा छु ।तिमीलाई त्यही गर्ने स्वतन्त्रता छ जुन तिम्रो हृदयले बिगुल फुक्छ तर मलाइ विश्वास छ तिमीले पनि बुझ्नेछौ बिस्तारै मन पराउनु र प्रेम गर्नु बिचको अन्तर र यदि तिमीले भन्यौ भने पनि हामी कहिल्यै एक हुन नसक्ने नदिका किनारा हौ जो सङै भएर पनि सङै हुन्दैन । मलाइ मन्जुर छ तिम्रा हरेक सर्तहरु किनकी यहाँ सवाल प्रेमको छ । यदि तिमीलाइ जान्न मन छ भने सोध्न सक्नेछौ तिम्रा अनेकन प्रश्नहरु म अनुत्तरित भइदिनेछु  तर तिमीले देक्न सक्नेछौ मेरो भाव शून्य अनुहारमा लुकेको तिम्रो तस्वीर जुन मेरो नयनमा प्रष्ट सङै देखिने गरि बसेको छ त्यसैले नै दिन्छ यी सबै अनुत्तरित प्रश्नहरुको सहज र स्पष्ट जवाफको प्रतिबिम्ब ।



र अन्तिममा तिम्रो नाममा कविता लेख्दै बिदा हुन्छु

म एक कोरा कागज थिए
हुरी सङै बेगमा हुत्तिदै आयौ र
जिन्दगीका प्रितम यादहरूमा
रङहरूको संयोजन गर्दै
बनाइएका हरेक छायाचित्रमा
तिम्रो रूपण अवतार झल्किन्छ ।
जुन देदीप्यमान छ  ।
म आकाशको जूनलाई शब्द चढाएर
तिम्रो शब्दवृष्टि गर्न चाहन्न ।
म त टाढाका मनहरूलाई सँगै पारेर
भविष्यको यात्रा गर्न चाहन्छु ।
म चाहन्छु
एक भाष्य होस् , दुई तरूण मनबीच
जसले सदाकाल जोडिरहनेछ
प्रतिभावान् भ्रमरहरूलाई ।

साइनोको फगत परिभाषामा
तिमी अल्झिदैनौ होला आखिर
समाजको आँखामा
तर सबैभन्दा माथि त मेरै हृदय छ
जुन हरेकबेला धड्किराख्छ
तिम्रै मायाका घुनहरू मिसाएर
तिम्रै सम्झनका सुसेली मिसाएर

तिमी भन्छ्यौ भने -
भावनाका गहिरा गल्छिहरूमा हराउला हामी
आनन्दको तारेभिरमा लहरिउला
बनाउला हाम्रै स्वर्ण महल
र जिअौला जिन्दगी
आफ्नै किसिमले
जहाँ हाम्रो आफ्नै बगैँचा हुनेछ
फुल्नेछन् फूलहरू
छर्नेछन् सुभाष
र मग्मगाइरहनेछन् हाम्रो जिन्दगीमा ।

म त बदल्न चाहन्छु
हामी बीचको परिभाषा
जीवनको र जिउनुको
तिम्रो, मेरो र हाम्रो प्रेमको ।
के तिमी तयार छौ ?
तिम्रो चित्तचौतारोमा
मेरो बास
निर्झर कविता जस्तै हो ।
न कुनै आदि छ न अन्त्य
चलिरहेछ आफ्नै चित्तको भूगोलमा ।

तिमी वायू हौ
म तिम्रो बेग
तिमी पराधीन हौ
म तिम्रो अधीन
तिमी आधारशीला हौ
म तिम्रो धीर
तिमी प्राण हौ
म तिम्रो वाणी ।

त्यसैले त आऊ
साटौँ एकअर्काको दिल
र कोरौँ निशानी
तिम्रो, मेरो र हाम्रो अमर प्रेमको ।
र जन्माअौँ नयाँ पदचापहरु
ज्ञान र प्रेमका ।
समर्पण र सद्भावका ।
हाम्रो निशानीलाई
एउटा साइनो दिअौँ
युगीन प्रेमको
तिम्रो र मेरो ।

धन्यवाद
उहीँ तिमीलाइ माया गर्ने
अमृत राज जैशी

यहाँ लेखिएका सबै घटना काल्पनिक हुन यदि कसैको वास्तविक जीवनमा मेल खान गएमा त्यो संयोग मात्र हुनेछ ।

1 comment: